काठमाडौंको बस्तीमा अदृश्य रूपमा फैलिँदै प्रतिजैविक प्रतिरोध ब्याक्टेरियाः औषधिलेसमेत काम नगर्ने खतरा बढ्दै, स्वास्थ्य संकटको नयाँ संकेत

काठमाडौं। काठमाडौं उपत्यकाको मुटुमा रहेको बागमती किनारका अव्यवस्थित बस्तीहरू अहिले एक अदृश्य तर गम्भीर स्वास्थ्य संकटको चपेटामा परेको नयाँ अनुसन्धानले देखाएको छ। प्रतिजैविक प्रतिरोध क्षमता (Antimicrobial Resistance — AMR) बोकेका ब्याक्टेरियाहरू मानिस, पशुपंक्षी र वातावरणमा अदृश्य रुपमा तर द्रुत गतिमा फैलिँदै छन्।
थापाथलीस्थित अस्थायी बस्तीमा गरिएको वैज्ञानिक अनुसन्धानले प्रतिजैविक औषधिबाट असर नपर्ने ब्याक्टेरियाहरू मानिस, पशुपंक्षी र वातावरणमा व्यापक रूपमा फैलिएको यथार्थ उजागर गरेको छ। उक्त क्षेत्रमा बसोबास गर्ने बासिन्दा, तिनका घरपालुवा कुखुरा र बटेरा, नदीको माटो, पानी र बस्तीको वातावरणमा यस्ता प्रतिरोधी ब्याक्टेरियाहरू उच्च मात्रामा फेला परेका छन्।
‘एक स्वास्थ्य (One Health) अर्थात् मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धित स्वास्थ्य दृष्टिकोणलाई आधार मानेर गरिएको यस अध्ययनको लागि थापाथली क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने बासिन्दाहरू, तिनका पाल्तु कुखुरा र बटेराको दिसा, बागमती किनारको माटो र खोलाको पानीको नमुनाहरू संकलन गरी परीक्षण गरिएको थियो ।
अध्ययन अनुसार मानिस र पशुपंक्षीको आन्द्राभित्र रहेका सूक्ष्म जीव— विशेषतः ब्याक्टेरिया– औषधिको प्रभाव नै नहुने प्रतिरोध क्षमता बोकी बसेका छन्, जसले गर्दा विभिन्न खालका रोगहरूको उपचारमा जटिल बनाउने खतरा देखिएको छ।यस अनुसन्धानबाट ५३ प्रकारका प्रतिजैविक प्रतिरोध जीन (Antimicrobial Resistance Genes — ARGs) पहिचान भएका छन्, जसले औषधिको प्रभावकारिता कमजोर बनाउने र सामान्य संक्रमणलाई समेत ज्यान लिने गम्भीर रोगमा रूपान्तरण गराउने जोखिम बढाएको देखिन्छ।
अस्पतालको फोहोर, खोलाको प्रदूषण र घरपालुवा पशुपंक्षी
अध्ययनले प्रतिजैविक प्रतिरोध क्षमताको फैलावटमा बागमती नदी किनारको अस्वस्थ फोहोर व्यवस्थापन, अस्पतालहरूको प्रशोधन नभएको फोहोर पानी र जनावरको घाँसे मैदान तथा चरण प्रणालीले मुख्य भूमिका खेलेको देखाएको छ।
थापाथली क्षेत्रमा रहेका परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र नर्भिक इन्टरनेशनल अस्पतालले उपचारपछि निस्किएको फोहोर पानी सिधै बागमती नदीमा फाल्ने गरेको तथ्य अध्ययनमा उल्लेख छ। सोही प्रदूषित पानी नदी किनार र बस्तीहरूमा फैलिँदै वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको स्पष्ट देखिएको छ।
यस्तो प्रदूषणको प्रभाव केवल पानी र माटोसम्म सीमित छैनस घरपालुवा कुखुरा र बटेरामा समेत औषधि प्रतिरोध क्षमता बोकेका ब्याक्टेरियाहरू फेला परेका छन्।
पशुपंक्षीमा सबैभन्दा धेरै प्रतिरोध क्षमता
नमुनाहरू परीक्षण गर्दा सबैभन्दा धेरै प्रतिजैविक प्रतिरोध क्षमता बोकेका ब्याक्टेरिया कुखुरा र बटेरामा फेला परेका छन्। वैज्ञानिकहरूका अनुसार यस्तो अवस्थाको प्रमुख कारण पशुपालन व्यवसायमा अनियन्त्रित रूपमा प्रयोग गरिने प्रतिजैविक औषधि नै हो।
“कुखुरापालनमा औषधि मनपरी रूपमा प्रयोग हुँदा ब्याक्टेरिया औषधिले असर नगर्ने बन्छ। यस्ता ब्याक्टेरिया पशुपंक्षीबाट सजिलै मानिसमा स्थानान्तरण भई प्रतिरोध फैलाउने काम गरिरहेको छ,” अध्ययनमा सहभागी वैज्ञानिक अनुपमा गुरुङले बताइन्।
मानव नमुनामा समेत यस्तै प्रतिरोध क्षमता बोकेका ब्याक्टेरिया र रोगजनक जीवाणुहरू पर्याप्त मात्रामा फेला परेका छन्। मानिस र पशुपंक्षी दुवैमा E. coli, Shigella र Campylobacter जस्ता रोग उत्पादन गर्ने ब्याक्टेरियाहरू उच्च मात्रामा देखिएको अध्ययनले उल्लेख गरेको छ।
एक स्वास्थ्य One Health को अवधारणा र जोखिम
अध्ययनले स्पष्ट रूपमा देखाएको छ – मानव, पशुपंक्षी र वातावरणबीचको आपसी अन्तरसम्बन्धले प्रतिजैविक प्रतिरोध क्षमता बोकेका ब्याक्टेरियाहरूलाई फैलिन सहज वातावरण प्रदान गरिरहेको छ। कुनै एक स्थानमा देखा परेको प्रतिरोध समस्या सजिलै अर्को स्थानमा स्थानान्तरण हुँदै गइरहेको छ।
अध्ययन टोलीका सदस्य डा राजेश राजभण्डारीका अनुसार यस्तो प्रतिरोधी समस्या नियन्त्रणका प्रयासहरू केवल स्थानीय स्तरमा सीमित रहनु हुँदैन। पशुपंक्षी, मानव र वातावरणलाई एउटै स्वास्थ्य दृष्टिकोणबाट बुझेर मात्र यसको दीर्घकालीन समाधान सम्भव हुन्छ। यदि समयमै यस्तो पहल गरिएन भने प्रतिरोध क्षमता भएका ब्याक्टेरियाहरू महामारीको रूपमा फैलिन सक्छन् ।
अनुसन्धानले विशेषतः ब्याक्टेरियाबीच जीन आदानप्रदान (Horizontal Gene Transfer) मार्फत प्रतिरोध क्षमताको विस्तार भैरहेको देखाएको छ। यस अर्थमा सामान्य अवस्थामा निष्क्रिय वा क्षणिक रूपमा अक्षम मानिने ब्याक्टेरियाहरूले अन्य प्रतिरोधी ब्याक्टेरियाबाट जीन सापटी लिएर औषधिको असर नमान्ने घातक स्वरूप लिन सक्ने खतरा रहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
रोगजनक फ्याक्टर र प्रतिरोधी जीनहरूको दोहोरो खतरा
अध्ययनमा पत्ता लागेका केही ब्याक्टेरियाहरूले औषधि प्रतिरोध क्षमता मात्र होइन, रोग फैलाउने विषाक्त जीनसमेत बोकेको प्रमाण देखिएको छ। Shiga toxin उत्पादन गर्ने ब्याक्टेरिया — जुन प्रायः गम्भीर संक्रमण र आन्द्रामा रक्तस्राव गराउने जोखिमयुक्त अवस्था सँग सम्बन्धित हुन्छ — कुखुरा र मानिस दुवैको नमुनामा फेला परेको अध्ययनले उल्लेख गरेको छ।
त्यस्तै, E. coli र Shigella जस्ता ब्याक्टेरियामा समेत विभिन्न प्रकारका विषाक्त जीनहरू फेला परेका छन्। यस्ता ब्याक्टेरियाहरूले झाडा पखाला, पाचन प्रणालीसम्बन्धी गम्भीर समस्या र कहिलेकाहीँ मृत्युसम्म निम्त्याउने खतरा रहन्छ भन्ने तथ्य अध्ययनले औँल्याएको छ।
समयमै सचेत नहुँदा उपचार विकल्प सीमित हुँदै
अध्ययनमा सहभागी अनुसन्धानकर्ताहरूको अनुसार ( यदि प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाको फैलावट रोक्न तत्काल प्रभावकारी कदम चालिएन भने भविष्यमा सामान्य रोगहरूको उपचारमा प्रयोग हुने औषधिहरू नै प्रभावहीन बन्ने उच्च सम्भावना रहन्छ।
अस्पतालहरूको फोहोर प्रशोधन प्रणाली सुधार, कृषि तथा पशुपालन क्षेत्रमा प्रतिजैविक औषधिको प्रयोगमा कडाइ, वातावरणीय प्रदूषणको नियन्त्रण र औषधिको अनियन्त्रित प्रयोगमाथि निगरानी अपरिहार्य रहेको कुरा स्पष्ट रूपमा अनुसन्धानकर्ताहरूको सुझावमा उल्लेख छ।
‘यो समस्या चिकित्सक वा वैज्ञानिकहरूको मात्र होइन, हाम्रो सामूहिक जीवनशैली, औषधि प्रयोगको प्रवृत्ति र वातावरण व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्धित छ,’ अध्ययन संयोजक डा। दिवेश कर्माचार्यले बताए।
अध्ययन टोलीको चेतावनी छ – नेपालले यदि समयमै अस्पताल, पशुपालन र फोहोर व्यवस्थापन सुधार्न चासो नदिए, प्रतिरोध क्षमता भएका ब्याक्टेरियाहरू जुनसुकै बेला महामारीको रूप लिन सक्छन्। हालको अवस्थाले प्रतिरोधी ब्याक्टेरिया विश्वव्यापी स्वास्थ्य संकटतर्फ अग्रसर भइरहेको संकेत नेपालमा समेत प्रष्ट देखिएको छ।
सचेतना, सतर्कता र सुधार अपरिहार्य
यस अध्ययनले प्रतिजैविक प्रतिरोध क्षमताको जालो मानव, पशुपंक्षी र वातावरणबीच कसरी फैलिँदै छ भन्ने यथार्थ स्पष्ट रूपमा उजागर गरेको छ।एक स्वास्थ्यको अवधारणाले देखाएको तथ्यले एक स्थानमा देखा परेको जोखिमले सम्पूर्ण समाजलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित गर्न सक्ने सम्भावना औँल्याएको छ।
यदि समयमै सचेत भई सरकारले उचित नीति निर्माण, कार्यान्वयन र जनचेतना अभिवृद्धि अभियान प्रारम्भ गर्न सकेन भने औषधिको दुरुपयोग, अस्वस्थ सरसफाइ तथा वातावरणीय उपेक्षाले नेपालको स्वास्थ्य प्रणाली गम्भीर संकटमा पर्न सक्ने जोखिम प्रष्ट देखिएको छ।
एक स्वास्थयको अवधारणामा आधारित सोच, वैज्ञानिक अनुसन्धानको सुदृढीकरण र प्रतिरोध क्षमता भएका ब्याक्टेरियाको प्रभावकारी निगरानी प्रणाली निर्माण अपरिहार्य बन्दै गएको छ। समयमै आवश्यक नीतिगत तथा व्यवहारिक कदम चाल्न सकिए मात्र अहिले देखिएको जोखिमलाई नियन्त्रण गर्न सकिन्छस अन्यथा यो अदृश्य स्वास्थ्य संकटले निकट भविष्यमा भयावह रूप लिन सक्ने सम्भावना टड्कारो देखिन्छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकारट्याग : ##AMR, ##CMDN Nepal, #गंगा जि.सी
तपाईको प्रतिक्रिया दिनुहोस