पोखरा विमानस्थलमा २ अर्ब २२ करोडभन्दा बढी कर छुट दिएर आर्थिक अनियमितता गरेको निष्कर्ष 


काठमाडौं। पोखरा विमानस्थलमा २ अर्ब २२ करोडभन्दा बढी कर छुट दिएर आर्थिक अनियमितता गरेको निष्कर्ष निकालिएको छ। राजेन्द्र लिङ्देन नेतृत्व संसदीय उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा उक्त अनियमितता औंल्याएको हो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन अनुगमन उपसमितिले तयार पारेको प्रतिवेदनमा पटकपटक गरेर २ अर्ब २२ करोड ४० लाख कर छुट दिएर आर्थिक अनियमितता गरिएको निष्कर्ष छ। ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमिता र भ्रष्टाचार भएको र निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको उपसमितिले निष्कर्ष निकालेको संयोजक लिङदेनले जानकारी दिए। सार्वजनिक खरिद ऐन तथा प्रचलित मान्यता विपरीत भ्रष्टाचारलाई वैधता प्रदान गर्ने मनसायले तीन सदस्य कार्यदल गठन गरी लागत अङ्क वृद्धि गर्न नीतिगत निर्णय भएको समेत उपसमितिको ठहर छ।

‘मूल सम्झौताको प्रावधान विपरीत कर छुट दिएर आर्थिक अनियमितता गर्ने मनसायबाट नयाँ कार्यान्वयन सम्झौता गरी पटकपटक गरेर २ अर्ब २२ करोड ४० लाख कर छुट दिएर आर्थिक अनियमितता गरिएको’, उपसमितिका संयोजक लिङदेन निष्कर्ष सुनाए। विमानस्थल निर्माणका समग्र पक्षमा कानुनी तथा प्राविधिक दृष्टिकोणले समेत व्यापक अध्ययन गरी सम्बन्धित निकायबाट भ्रष्टाचार तथा अनियमिततामा संलग्नहरुलाई कारबाही हुनुपर्ने लिङदेनले बताए। साथै विमानस्थल पूर्णरूपमा सञ्चालन योग्य बनाएर व्यवसायिक सञ्चालनका लागि नेपाल सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ