अतिरिक्त सचिवका लागि प्रतिस्पर्धा: नयाँ अनुहारको दबदबा, डा. डेलाले मारिन् बाजी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खाली दुई अतिरिक्त सचिवका लागि २२ जनाले आवेदन दिएका थिए। स्वास्थ्य सचिव डा. रोशन पोखरेल अवकाश भएपछि उक्त पदमा डा. विकास देवकोटा नियुक्त भए। डा. विकास र अतिरिक्त सचिवबाट ‘रिटायर्ड’ भएका दिपेन्द्ररमण सिंह गरेर दुई पद रिक्त छ। उक्त पदमा अतिरिक्त सचिव बढुवाका लागि प्रक्रिया अघि बढेको हो।
आवेदन दिएकाहरूको नम्बर जोड्ने काम सकिएको छ। धेरैले एक नम्बरमा पर्दै आएका डा. श्रीकृष्ण श्रेष्ठ त्यस्तै डा. केशरबहादुर ढकाल र डा. सुधा देवकोटा सिनियर भएको अनुमान लगाउँदै आएका थिए। उक्त अनुमान गत वर्षको कार्यसम्पादन मूल्याङ्कनका आधारमा ठिकै थियाे। तर यसबीचमा नामै नसुनेका व्यक्ति अगाडि आएका छन्। नयाँ अनुहार अगाडि आउँदा डा. सुधा र डा. ढकालका अगाडि कालो दाग लाग्ने अनुमान गरिएको छ।
स्वास्थ्य लाइभले पाएको सूचना अनुसार डा. श्रीकृष्ण श्रेष्ठ पछाडि परेका छन्। एक नम्बर श्रेष्ठको कब्जाबाट बाहिर गएको छ। डा. डेला सिंह जाेशीले एक नम्बर ओगटेपछि श्रेष्ठ दोस्रो नम्बरमा झरेका छन्। यस अगाडि दोस्रो नम्बरमा डा. केशरबहादुर ढकाल थिए। तर ढकाल केही पछाडि धकेलिएका छन्। चौथो नम्बरमा रहेकी डा. सुधा तेस्रो नम्बरमा उक्लिएकी छन्। एक स्थान अगाडि उक्लिए पनि अतिरिक्त सचिव हुने बाटोलाई उनले कठिनै बनाएकी छन्।
पहिलो पटक १२ औँ तहका लागि प्रतिस्पर्धा गरेकी डा. डेला एक नम्बरमा आफूलाई राख्न सफल भएपछि दुई अतिरिक्त सचिवमध्ये उनी पर्ने सम्भावनालाइ कसैले रोक्न सक्ने अवस्था देखिँदैन। त्यस्तै तेस्रो नम्बरमा रहेकी डाक्टर सुधा देवकोटाकाे यसपटक पनि अतिरिक्त सचिव बन्ने बाटो निकै कठिन बनेको देखिन्छ।
अतिरिक्त सचिवका लागि डाक्टर सुधाले डाक्टर संगीता मिश्रको राजीनामा कुर्नुपर्ने हुनसक्छ। कोरोनाकाे समयमा सबैले शतप्रतिशत नम्बर पाउँदा डा. सुधालाई तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कम नम्बर दिएर पछाडि पारेका थिए। त्यसको असर गत वर्षदेखि सुधामा निरन्तर देखिएको छ। लक्ष्मणले अन्याय गर्दा उनले अतिरिक्त सचिवको ‘लक्ष्मण रेखा’ पार गर्ने सम्भावना न्यून देखिन्छ।
अतिरिक्त सचिव बढुवाका लागि नम्बरलाई मिलाउन डा. सुधा कोशी प्रदेशको सचिव भएर बसेकी थिइन्। अहिले उनको नम्बर थप भएसँगै पाँचौं नम्बरमा रहेकी सुधा तेस्रो नम्बरमा पुगेकी हुन्। तथापि अतिरिक्त सचिवका लागि अरुको अनुपातमा पर्याप्त नम्बर देखिएन।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे बढुवा समितिको बैठक बसेर तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। मन्त्रिपरिषदले तीन जना मध्यबाट दुई जनाको नाम अतिरिक्त सचिवका लागि फाइनल गर्नेछ। गत चैत ६ गतेबाट १५ दिनको समय दिएर खाली रहेको अतिरिक्त सचिव पदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गरेको थियो। अतिरिक्त सचिवका लागि एघारौं तहका कर्मचारीमध्ये ५८ जनाले नियमत फारम भर्न पाउने थिए। तर २२ जनाले मात्रै अतिरिक्त सचिव बन्न म योग्य छु भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आफ्ना सबै कागजपत्र बुझाएका थिए।
( आवेदक २२ जनाएको सूची )
डा. दिपक थापा
डा. संजय कुमार ठाकुर
डा. राजन पाण्डे
डा. श्रीकृष्ण श्रेष्ठ
डा. किरणमणी पौडेल
डा. यदुचन्द्र घिमिरे
डा. सरोज शर्मा
डा. विष्णुप्रसाद शर्मा
डा. प्रभा चापागाँई
डा. कृष्णप्रसाद पौडेल
डा. केशर बहादुर ढकाल
डा. वासुदेव उपाध्याय
डा. श्रवण कुमार थापा
डा. सुधा देवकोटा
श्री दुर्गालक्ष्मी श्रेष्ठ
डा. रुना झा
श्री नारायणप्रसाद ढकाल
डा. अजित रायमाझी
डा. चुमनलाल दास
डा. चन्द्रभाल झा
डा. प्रविन श्रेष्ठ
डा. डेला सिंह जोशी
ट्याग : ##12 तह
तपाईको प्रतिक्रिया दिनुहोस