ग्लोबल फन्ड लफडा 

स्वास्थ्य मन्त्रालयलाई आफ्नै संयन्त्रमाथि विश्वास नहुँदा गाँठो फुकेन 


काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको काम कारबाही प्रति ग्लोबल फन्डले समेत प्रश्न उठाउन थालेको छ। स्वास्थ्य लाइभले ३ बैशाखमा “युएनडिपीको ढङ्ग नपुग्दा अलमलमै बित्यो ८ महिना १६ दिन” शीर्षकमा समाचार प्रकाशित गरेपछि ग्लोबल फन्डले आकस्मिक बैठक राखेर समस्या  चाँडो  हल गर्न निर्देशन समेत दिएको छ। त्यस यता दिनहुँजसो इमेल आदानप्रदान हुन थालेका छन्। तर,  कामको तौल तरिका उस्तै छ ।

फेब्रुअरी १ बाट औपचारिक रुपमा युएनडिपी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ग्लोबल फन्डको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा अहिले सम्म अगाडि बढ्न नसकेपछि ग्लोबल फन्डका एक अधिकारी स्टेफनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यशैली प्रति प्रश्न उठाएका छन्।

कन्ट्रि कोर्डिनेसन मेकानिजम (सीसीएम) ले  अहिले सम्म पूर्णता पाउन नसकेको भन्दै स्टेफन रिसाएका छन्। यस अगाडि सेभ द चिल्ड्रेन पीआर हुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सीसीएमको अध्यक्षता गरेको थियो। तर, अहिले युएनडिपी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पीआर भएका छन्। नियम अनुसार पीआर भएको निकायले सीसीएमको चियर गर्न मिल्दैन।

ग्लोबल फन्ड स्वास्थ्य मन्त्रालय पीआर बनेको अवस्थामा अन्य कुनै मन्त्रालयले सीसीएमको चियर गर्नुपर्ने पक्षमा देखिएको छ। तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पीआर र चियर दुवै नछाड्ने पक्षमा उभिएका कारण फेरी समस्या आएको छ। अधिकारीहरूले एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पीआर हस्तान्तरण गरेर सीसीएमको चियर मन्त्रालयले गर्न अनुरोध गरेका छन्। मन्त्रालय त्यसमा पनि राजी भएको छैन।

सेवालाई सहज र गुणस्तरीय बनाउने भन्दा पनि कसरी आफ्नो मातहत अधिकार राखेर त्यसको दुरुपयोग गर्ने भन्नेमा मन्त्रालयका अधिकारीहरू लागेको देखिन्छ। सीसीएमको चियर अन्य मन्त्रालयलाई जिम्मा दिँदा विदेश जान र आफूले चाहेका कर्मचारी राख्न सक्दैन। त्यसैले  मन्त्रालय कुनै पनि अधिकार अन्यत्र दिने पक्षमा छैन। यसले गर्दा ग्लोबल फन्ड र मन्त्रालय बीच फेरी  दूरी बढेको छ। अधिकारीहरूले यही तरिकाले १ वर्ष भन्दा बढी युएनडिपी पीआर बन्न नसक्ने चेतावनी पनि मन्त्रालयलाई दिएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : ##Global Found

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ