संरक्षणको पर्खाइमा स्याङ्जाको तपस्वीनी चम्पा गिरी जन्म सन्यास आश्रम

काठमाडौं। स्याङ्जाको विरूवा गाउँपालिका वडा नम्बर ४ मडकिना गोफा (गुफा) महान तपस्वीनी चम्पा गिरीको जन्म स्थान हो। २ सय वर्षभन्दा पुरानो चम्पा गिरीको जन्म स्थान मडकिना गोफाको संरक्षण हुन सकेको छैन।
कुनै समय योग, ध्यान, साधना, संस्कृति, शिक्षा, आयुर्वेद र झारफूकको प्रमुख केन्द्र मानिने महान तपस्वी चम्पा गिरी जन्म सन्यास आश्रम अहिले ओझेल परेको छ। भारतमा समेत प्रख्यात रहेकी चम्पा गिरीलाई राज्यले पहिचान र उचित संरक्षण गर्न सकेको देखिँदैन।
पर्यटकीय नगरी पोखराबाट गाडीमा २ घण्टाको दूरीमा पुगिने मडकिना गोफा (महान पस्वीनी चम्पा गिरी जन्म आश्रम) राज्यको उचित संरक्षण पाए धार्मिक पर्यटन र आध्यात्मको केन्द्र बन्न सक्छ। पोखराबाट स्याङ्जाको पुतलीबजार हुँदै ओरष्टे (मडकिना गोफा) सहज तरिकाले पुग्न सकिन्छ। तर, राज्य भने महान तस्पवीनी चम्पा गिरीको जन्म स्थानमा अहिलेसम्म सहज तरिकाले पुग्न सकेको पाइँदैन।
चम्पा गिरी जन्म आश्रम (मडकिना गोफा) स्याङ्जाको पुतलीबजार नगरपालिका, विरूवा गाउँपालिका, हरिनाश गाउँपालिका र तनहुँको शुक्लागण्डकी गाउँपालिकाको संगम स्थल समेत हो। २ सय वर्षभन्दा पुरानो इतिहास बोकेको मडकिना गोफा गोफामै सीमित हुन पुगेको छ।
मडकिना गोफामै (गुरूङ भाषामा गुफालाई गोफा भनिन्छ) शिक्षादिक्षा लिएका हेमप्रसाद गुरूङ ( गोपाल बा) चम्पा गिरी जन्म आश्रमको ईतिहास २ सय वर्ष वर्षभन्दा पुरानो रहेको दाबी गर्छन्। हाल चम्पा गिरी जन्म सन्यास आश्रमको जग्गा नारायर्णेश्वर शिवजी गुठीमा लगिएको छ।
नारायर्णेश्वर शिवजी गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपालले मडकिना गोफा संरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन्। मडकिना गोफा संरक्षणका लागि स्वामी गोकुलानन्द वेदान्तचार्य काठमाडौंबाट सक्रियापूर्वक लागिपरेका छन्। गोकुलानन्दले चम्पा गिरीबाट प्रभावित भएर भारतमा ठूलो अवसर हुँदाहुँदै पनि नेपालको स्याङ्जा आएर चम्पा गिरीको १५ वर्ष सेवा गरेका थिए। चम्पा गिरी जन्म सन्यास आश्रमलाई जीवन्त दिन उनी निरन्तर लागिपरेका हुन्।
चम्पा जिरी जन्म सन्यास आश्रममा रहेको नारायर्णेश्वर शिवजी मन्दिर पुरातत्त्व विभागले पुनर्निमाण गरिसकेको छ। तर, त्योभन्दा महत्वपूर्ण मानिने सय वर्षभन्दा पुरानो चम्पा गिरी जन्म घर संरक्षण हुन सकेको छैन। उक्त प्राचिन तथा पुरातात्त्विक सम्पदालाई पनि पुरातत्त्व विभागलगायत सरोकारवाला निकायहरूले संरक्षण गर्न ढिला भइसकेको छ। महान तपस्वीनी चम्पा गिरीलाई राष्ट्रिय विभूतिको रूपमा समेत लिन सकिन्छ। त्यसका लागि समेत राज्यबाट उचित पहल हुन सकेको देखिँदैन।
चम्पा गिरी जन्म सन्यास आश्रममा बेलायत निवासी समाजसेवी दिलिपकुमार गुरूङले १० औं लाख खर्च गरेर यज्ञशाला निर्माण गरिदिएका छन्। मडकिना भञ्ज्याङमै जन्मिएका समाजसेवी दिलिपको चम्पा गिरी जन्म सन्यास आश्रमको संरक्षण, विकास र विस्तारमा ठूलो योगदान रहेको पाइन्छ। दिलिप कै कारण मडकिना गोफामा आशाको दियो बल्न थालेको स्थानीयहरू बताउँछन्। राज्यको उचित ध्यान पुगे चम्पा गिरी जन्म सन्यास आश्रम स्याङ्जामा मात्रै होइन नेपाल र भारतमै प्रख्यात हुन सक्छ। उनको जन्मभूमिमा लाखौं भारतीयहरूलाई पुऱ्याउन सकिन्छ।

को हुन् महान तपस्वीनी श्री १००८ माता चम्पा गिरी?
चम्पा गिरी १९७८ साल पौष १५ गते स्याङ्जाको ओरष्टे-१ मडकिना गोफा (हाल विरूवा गाउँपालिका वडा नम्बर ४ ओरष्टे मडकिना गोफा)मा जन्मिएकी हुन्। उनका पिता नारायण पुरी र माता सोमबार गिरी हुन्। चम्पाका दुई जना दाजु थिए। ठूल्दाइ पर्वत गिरी र सान्दाइ मस्त गिरीको बहिनीका रूपमा चम्पाको जन्म भएको हो।
तपस्वी परिवारमा जन्मिएकी चम्पाका ठूल्दाइ पर्वत गिरीले गाउँलेहरूले स्वास्थ्य, शिक्षा, योग, ध्यान सिकाउने र झारफूक गर्ने गर्थे। उनले तमसुक लेख्नेदेखि आवश्यक शिक्षादिक्षा दिने गर्थे। त्यहाँ शिक्षा लिनका लागि टाढाटाढाबाट मानिसहरू आउने गर्थे। शाहकालीन मन्त्री खड्गबहादुर गुरूङ पनि पर्वत कै चेला भएको नारायर्णेश्वर शिवजी गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल सुनाउँछन्।
कान्छा मस्त गिरी पनि कलाकार र लडाकू थिए। उनी बाजागाजा बजाउन निपूर्ण रहेको र घर तथा मन्दिरहरू बुँट्टा कुँद्नेलगायतका काम गर्ने गरेको गोपालले बताए। मस्तले बनाएको मन्दिरको अस्तित्व अझै पनि देख्न सकिन्छ। उनीहरू सबै अविवाहित हुन्।
चम्पा गिरी एकदिन साथीहरू गोठालो जाँदा पानीमा किरा घुमिरहेको देखिछन्। पानीमा किरा घुमिरहेको देखेर उनलाई घर आउँदासम्म पनि त्यहिँ यादले सताइरहेछ। साथीहरूलाई आग्रह गरेर चम्पा अध्याँरोमा टुकी बालेर फेरि त्यहीँ किरा घुमेको ठाउँमा पुगिछन्। टुकी बालेर जाँदा पनि किरा घुमिरहेको देखेपछि उनको मनमा आफूहरु त घुम्नका लागि पो जन्मिएका रहेछौँ भन्ने लागेछ। त्यसपछि चम्पाले घर छाडेको उनलाई जान्नेहरू सुनाउँछन्।
चम्पा गिरीको सेवामा १५ वर्ष अर्पित गरेका स्वामी गोकुलानन्दका अनुसार १३ वर्षको उमेरमा घर छाडेकी चम्पा हाल पुतलीबजार वडा नम्बर ४ डाडाँकुटीमा बस्ने तपस्वी ब्राह्मचारी धिरज गिरीसँग दिक्षा लिन पुगेकी थिइन्। धिरज गिरी गुरू मानेर १३ वर्षको उमेरमा सन्यास लिएपछि चम्पा मानसरोवर यात्रामा निस्केकी थिइन्। मानसरोवर परिक्रमा गरेपछि उनी नेपाल फर्किइन्। पूर्वको चतराधामदेखि पश्चिमको नाभिस्थानसम्म पुगेर चम्पाले धर्मलाई प्रवर्द्धन गरेको जानकारहरू बताउँछन्।
हठ योगमा निपूर्ण र धर्मशास्त्रका सबै ग्रन्थ पढ्न सक्ने चम्पाले १६ वर्षको उमेरमा नेपाल छाडेकी थिइन्। चम्पालाई उनका गुरू धिरज गिरीले भारतको हरिद्वारमा रहेको जुना अखडामा पठाइदिए। धिरज पनि जुना अखडाको साधु रहेको गोकुलानन्द बताउँछन्।
जुना अखडाकी प्रमुख अलकापुरी भन्ने तपस्वीनीको अन्डरमा बसेर चम्पाले धर्म, संस्कार, योग, साधना, धार्मिक ग्रन्थको पठनपाठनलगायत सबै कर्म सिकेकी थिइन्। सबै कुरामा निपूर्ण भएपछि जुना अखडाकी प्रमुख अलकापुरीले चम्पालाई श्री १००८ माताको उपाधि दिएकी थिइन्। योग, ध्यान, तपस्यालगायत सबै कुरामा निपूर्ण भएपछि चम्पाले उक्त उपाधि पाउन सफल भएकी हुन्। चम्पाले जुना अखडामा १३ सय सन्यासी माताहरूको प्रमुखको जिम्मेवारी समेत पाउन सफल भएकी थिइन्। करिब ३ सय माताको नेतृत्व गरेर चम्पा रामेश्वरम, द्वारिका, बद्री, केदार, गंग्रोत्री, जमुनोत्रीलगायत सबै महत्त्वपूर्ण धाममा तिर्थाटन गर्न गएको स्वामी गोकुलानन्द सुनाउँछन्। चम्पा पाकिस्तानको समुन्द्र किनारमा रहेको हिङ्लाज भन्ने तिर्थमा पनि माताहरू लिएर पुगेको गोकुलानन्दले बताए। सबै तिर्थाटन सकेपछि चम्पा माताहरूलाई लिएर जुना अखडा फर्किएकी थिइन्।
जुना अखडामा चम्पा प्रख्यात भएपछि देहरादूनको राजपरिवारले उनलाई राजदरवार परिसरमै आश्रम बनाएर राखेको गोकुलानन्दको भनाइ छ। चम्पाले दशनामी परम्पराको योग, ध्यान, तपस्या, धुनी, पूजालगायत सबै कर्म देहरादून आश्रममा गर्न थालिन्। ४ वर्ष उक्त आश्रममा बसेपछि ३२/३३ वर्षको उमेरमा आफूलाई दिक्षा दिने गुरू धिरज गिरीको याद आयो। त्यपछि गुरूको दर्शन गरेर आउँछु भनेर उनी नेपाल फर्किइन्। अहिले पुतलीबजार नगरपालिका वडा नम्बर ४ स्थित चम्पा गिरी सन्यास आश्रम रहेको ठाउँमा छाप्रो बनाएर बसेका आफ्ना गुरूको अवस्था दयनीय देखेपछि उनी गुरूको सेवा गरेर यतै बसिन्। राजपरिवारले जतिनै लाने प्रयास गरेपनि गुरूक सेवामा समर्पित भएर उनी जान मानिनन्।
चम्पाले गुरू आश्रममा धनेश्वर महादेव मन्दिर स्थापना गरिन्। चम्पाले आश्रममा खन्न लगाउँदा शिवलिङ्ग भेटेपछि उक्त ठाउँमा धनेश्वर महादेवको मन्दिर स्थापना गरेको गोकुलानन्द बताउँछन्। नेपाल फर्किएपछि राजपरिवार बोलाउँदा पनि नगई चम्पा गुरूको सेवामा समर्पित भइन्। गुरूको निधन भएपछि चम्पाले ज्ञान, सत्संग, कथा बाचन गर्नेदेखि साधु सन्तको सेवा गर्न थालिन्।
चम्पाले दिएको आशिर्वाद लाग्ने, पुत्र सन्तान नहुनेहरू वर माग्न आउने गर्न थाले। आरूखर्के महारानी, धनमहारानी, मधुमहारानी जो (आरूखर्के अन्तिम महारानी समेत हुन्) चम्पालाई गुरूमा मानेर सेवा गर्न आउथे।
पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ पनि चम्पालाई माता मानेर सेवा गर्न गइरहन्थे। रामप्रसादले श्री १००८ माता चम्पा गिरीको आश्रममा पूर्ण कदको प्रतिमा समेत स्थापित गरिदिएका छन्। पूर्वप्रमुख जिल्ला अधिकारी जीवन ओली, पूर्वएआईजी सुरेन्द्रबहादुर शाह चम्पा गिरीका भक्तहरू हुन्। स्याङ्जाको सिडिओ हुँदा कृष्णबहादुर राउतले पनि चम्पा गिरीलाई आवश्यक सहयोग पुऱ्याएको स्वामी गोकुलानन्द बताउँछन्। त्यस्तै धेरै अधिकारीहरूको चम्पा गिरीप्रति आस्था, विश्वास र सहयोग रहेको उनको भनाइ छ।

भारतका तत्कालीन विदेशमन्त्री लालबहादुर शास्त्री ई. स. १९६३ सिद्धार्थ राजमार्गको उदघाटन र अवलोकन गर्न आउँदा(जुन राजमार्ग भारतीय सहयोगमा बनेको हो) चम्पा गिरी माता त्यहाँ बस्ने थाहा पाएर आश्रममै दर्शन गर्न पुगे। मातालाई के चाहिन्छ भन्दा पानीको अभाव छ भनेपछि मन्त्री शास्त्रीले १ लाख भारतीय रुपैयाँ खर्च गरेर चम्पा गिरी आश्रममा पानीको व्यवस्था गरिदिएको स्वामी गोकुलानन्दले सुनाए। सिद्धार्थ राजमार्ग बनाउँदा चिफ इन्जिनियर पनि चम्पा गिरी आश्रममै बसेका थिए।
चम्पा गिरीको पहिलो चेली टुल्की गुरूङ हुन्। सन्यासी भएपछि माता चम्पाले उनको नाम हरिद्वार गिरी राखिदिएकी थिइन्। हरिद्वारको पनि देहावसान भइसकेको छ। अन्य धेरै चेला-चेली माता चम्पालाई सम्झन जन्म आश्रममा जाने गर्छन्।
२०७४ सालमा चम्पा गिरी जन्म सन्यास आश्रम मडकिना गोफामा श्रीमद्भागवत लगाएर उक्त आश्रमको विकास निर्माण, संरक्षण र व्यवस्थापनको काम थालिएको हो। हाल चम्पा गिरी जन्म सन्यास आश्रममा उनकी चेली सरस्वती गिरी, सरस्वतीका जेठा छोरा कृष्ण तथा बुहारी इन्द्रा र कान्छा छोरा रामले चम्पा गिरीको परम्परालाई सम्हालिरहेका छन्। सन्यास परम्परालाई निरन्तरता दिइरहेका छन्।नित्य पूजा गर्नेदेखि माता चम्पा गिरीको मार्गलाई प्रवर्द्धन गर्न उनीहरू तल्लीन छन्। चम्पा गिरीको इतिहासलाई जीवित राख्न स्वामी गोकुलानन्द पनि मडकिना गोफा धाइरहेका हुन्छन्। गुठीका अध्यक्ष गुरुङको परिवारले खानेपानीदेखि आश्रमलाई आवश्यक सहयोग पुऱ्याउँदै आएको छ। बेलायतबाट समाजसेवी दिलिपकुमार गुरूङ पनि आश्रमको संरक्षण र प्रवर्द्धनका लागि सक्रियतापूर्वका लागिपरेका छन्। काठमाडौंमा रहेको गुठी संस्थानले पनि वार्षिक बजेटको व्यवस्था गरेर माता चम्पा गिरी जन्म सन्यास आश्रमलाई सहयोग पुऱ्याउँदै आएको छ।
श्री १००८ माता चम्पा गिरीको २०७० चैत २६ गते ९२ वर्षको उमेरमा निधन भएको हो। चम्पा गिरीको निधन भएको पनि १० वर्ष भइसकेकाले उनी जन्मिएको स्थान (आश्रम) १ सय वर्ष पुरानो प्राचिन सम्पदामा सहजै पर्ने देखिन्छ।
स्याङ्जाको विरूवा गाउँपालिकाकाको कक्षा ८ को स्थानीय पाठ्यक्रममा पनि श्री १००८ माता चम्पा गिरीको जीवनीको विषयमा पढाइ हुन्छ। माता चम्पा गिरीको जन्म सन्यास आश्रम संरक्षणका लागि राज्य नै सक्रिय भएर लाग्नु पर्ने देखिन्छ।
ट्याग : #चम्पा गिरी जन्म सन्यास आश्रम, #नारायर्णेश्वर शिवजी गुठी, #महान् तपस्वीनी चम्पा गिरी, #श्री १००८ माता चम्पा गिरी
तपाईको प्रतिक्रिया दिनुहोस