फेसबुक बन्द गर्ने सरकारको तयारी

काठमाडौं। सरकारले सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने तयारी गरेको छ। फेसबुकको माउ कम्पनी मेटा नेपालमा दर्ता हुन नआएपछि सरकारले फेसबुक बन्द गर्ने तयारी गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक बन्द गर्नका लागि तयारी थालेको मन्त्रालय स्रोतले बतायो। फेसबुक बन्द गर्नका लागि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरलाई अघि सारिएको छ। फेसबुक बन्द गर्ने निर्णय गर्दा विवादमा तानिने सम्भावना देखेपछि उनी हच्किएका छन्।
सरकारले मेटा बन्द गर्ने निर्णय गरे फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकसाथ बन्द हुनेछ। ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ लागू भएपछि सरकारले फेसबुक, इन्स्टाग्राम, थ्रेड्ससँगै एक्स (ट्विटर), युट्युब, गुगल, लिंक्डइनजस्ता सामाजिक सञ्जाल प्लाटफर्म नेपालमा सूचीकृत (दर्ता) गर्नुपर्ने हुन्छ। दर्ता हुनका लागि सरकारले सूचना निकाले पनि फेसबुकको माउ कम्पनी मेटा नेपालमा दर्ता हुन नआएको हो। यसले गर्दा नेपाल सरकारले करोडौं राजस्व समेत गुमाउँदै आइरहेको छ।
सरकार सञ्चालकहरूलाई अहिले समाजिक सञ्जाल फेसबुकलगायत टाउको दुखाईको विषय बनेको छ। मेटा नेपालमा दर्ता हुन नआएको मौकाको फाईदा उठाउँदै सरकार फेसबुक बन्द गर्ने प्रयासमा छ। सरकारको यो प्रयास कतिको सफल हुन्छ हेर्न बाँकी छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस