को बन्ला सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष?

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढेको छ। दुबै आयोगका अध्यक्ष तथा सदस्यमा आवेदन दिने व्यक्तिहरूको नाम सिफारिस समितिले सार्वजनिक गरेको हो।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा बनेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले दुबै आयोगका आवेदकहरूको सूची सार्वजनिक गरेका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले १११ नाम सार्वजनिक गरेको हो। उक्त सूचीमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं पूर्वसांसद राधेश्याम अधिकारी, नेपाल बारका पूर्वअध्यक्षद्वय गोपालकृष्ण घिमिरे र शेरबहादुर केसी, सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वमुख्यसचिव लिलादेवी गडतौला, पूर्वनायब महान्यायाधिवक्ता विश्वराज कोइराला र महेश थापा, उच्च अदालतका पूर्वन्यायाधीशद्वय डिल्लीराज आचार्य र अच्युतप्रसाद भण्डारी, संविधानविद् डा. विपिन अधिकारीलगायतको नाम समावेश छ।
सबैभन्दा पेचिलो सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष देखिन्छ। नेपाली कांग्रेसको भागमा परेको भनिएको सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी)को अध्यक्षमा नेपाल बार एसोसिएसनका निर्वतमान अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे बन्ने पक्कापक्की जस्तै भएको बताइन्छ। विजयप्रसाद मिश्रलाई बारमा अघि सार्ने बेलामै गोपाललाई टिआरसीको अध्यक्ष बनाउने भद्र सहमति भएको स्रोतको दाबी छ। अन्यथा नभए गोपाल नै टिआरसीको अध्यक्ष बन्ने उक्त स्रोतले बतायो।
टिआरसीको अध्यक्षमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले इच्छा व्यक्त गरे उनको प्रवल सम्भावना देखिन्छ। पूर्वसंसद् एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी समेत टिआरसीको अध्यक्षमा बलियो दावेदार देखिन्छन्। कल्याण र राधेश्यामले मुख खोलिसकेका छैनन्। टिआरसीको अध्यक्षमा नेपाली कांग्रेसबाटै नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी र पूर्वनायब महान्यायाधिवक्ता विश्वराज कोइराला पनि दौडधुपमा रहेको पाइन्छ। तर, गोपालकृष्णका अगाडि उनीहरू कमजोर देखिएका छन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष नेकपा एमालेको भागमा परे पूर्वमुख्यसचिव लिलादेवी गडतौला र पूर्वनायब महान्यायाधिवक्ता महेश थापामध्ये एक जना अध्यक्ष बन्ने देखिन्छ। नेकपा माओवादी केन्द्रको भागमा पऱ्यो भने उच्चका पूर्वन्यायाधीश डिल्लीराज आचार्य हुने निश्चित जस्तै छ। अच्युतप्रसाद भण्डारी पनि माओवादीको रोजाइमा रहेको बताइन्छ।
मिश्रको संयोजकत्वमा गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती,अर्जुनकुमार कार्की, स्टेला तामाङ र राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दुवाडी सदस्य रहेका छन्। दोहोऱ्याएर बनेको उक्त समितिले अहिले भने दुबै आयोगमा पदाधिकारी सिफारिस गर्ने कसरत जारी राखेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस