मेडिकल व्यवसायी विशाल पण्डित, इमनारायण श्रेष्ठसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। मेडिकल उपकरण खरिदमा मेडिकल व्यवसायी विशाल पण्डित, इमानारायण श्रेष्ठसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिद घोटालामा पण्डितसहित मधेस प्रदेशका तत्कालीन सामाजिक विकास सचिव इमनारायण श्रेष्ठसहित डेढ दर्जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले उक्त भ्रष्टाचार मुद्दामा मेडिकल व्यवसायी पण्डितसहित मधेस प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्रालयका सचिव श्रेष्ठ, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र, तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्ति नारायण साह, लेखा अधिकृत नवीन दासलाई प्रतिवादी बनाएको छ।
त्यस्तै वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, ल्याब टेक्नोलोजिस्टहरू मन मोहन मिश्र र राम उदगार यादव, माइक्रोबायोलोजिस्टहरू जितेन्द्र कुमार साह र अमरेन्द्र कुमार मिश्र, उप-प्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट दिपेन्द्र कुमार मिश्र, ल्याब असिस्टेन्ट रमेश कुमार मण्डल, लेखा अधिकृत अमरदीप महतो, ल्याब असिस्टेन्ट कर्मशील प्रसाद गोप, वरिष्ठ ल्याब अधिकृत उमेश चौधरीलाई पन प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
अख्तियारले करिब २२ करोड बिगो मागदाबीसहित मेडिकल व्यवसायी पण्डित, मधेश प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममा मेडिकल कर्मचारीविरुद्ध उपकरण खरिदमा विशेष अदालत भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुलको मागदाबी गरेको हो।
अख्तियारले मधेस प्रदेशमा २०७९/०८० मा ७२ पालिकाहरूमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि गरिएको ठेक्कामा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को गम्भीर उल्लंघन गरेको समेत निष्कर्ष निकालेको छ। टुक्र्याएर खरिद गरेको र म्याद गुज्रिसकेको सामान खरिद गरेको अख्तियारले ठहऱ्याएको हो।
हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक विशाल पण्डितको मिलेमतोमा कस्तुरी ट्रेड लिंक, लाइफलाइन ट्रेड इन्टरनेशनल, मेडिसोलुशन इन्टरनेशनल र ट्रिनिटि फर्मास्युटिकल्सले बोलपत्रमा मिलेमतो गरी दररेट पेश गरेको र स्पेसिफिकेशन मिल्ने गरी खरिद शर्त तयार गरेको अभियोग पत्रमा उल्लेख छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस