संघीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन पाएनन्, पुरानैले अड्डा जमाए

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि विभागका उपसचिव चुरामणि पन्थीलाई काठमाडौंको शंखरापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठायो। शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालको ठाउँमा पन्थीलाई पठाएको थियो। तर, धितालले ठाउँ नछाडेपछि पन्थीले जिम्मेवारी सम्हाल्न पाएनन्।
संघीय मामिला मन्त्रालयले भक्तपुर कै मध्यपुर थिमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ईलामको माई नगरपालिकाका महेन्द्र विश्वकर्मालाई पठाएको थियो। रामबहादुर केसीको ठाउँमा विश्वकर्मालाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएपनि केसीले ठाउँ छाडेनन्। धिताल र केसी दुबै जना संघीय सरकारका कर्मचारी हुन्। धिताल र केसीलाई फिर्ता बोलाएर पन्थी र विश्वकर्मालाई हाजिर गराउन नसक्ने संघीय सरकारले काठमाडौं महानगरपालिकामा भने सरोजप्रसाद गुरागाईंलाई प्रमुख प्रशासकीय अधिकृतका ढोका फोडेरै हाजिर गराएर छाड्यो।
काठमाडौंको चन्द्रागिरी र दक्षिणकाली नगरपालिकाका पठाइएका प्रमुख प्रशासकीय अधिकृतलाई पनि हाजिर गर्न दिइएन।चन्द्रागिरीका हेमराज अर्यालले आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेपछि भुवनेश्वर लामिछानेलाई चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको थियो। लामिछानेलाई मेयरले हाजिर गर्न नदिएपछि निर्णय फेरेर सुरेन्द्र थापा मगरलाई चन्द्रागिरी पठाइयो। दक्षिणकाली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली पनि सहसचिव भएपछि रामप्रसाद आचार्यलाई दक्षिणकाली पठाइयो। आचार्यलाई पनि दक्षिणकाली नगरपालिकाले हाजिर नगराएपछि हालै उपसचिवमा बढुवा भएका राममणि काफ्ले दक्षिणकालीको प्रमुख प्रशासकीय अधिकृत भएर गएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरूवाको निर्णय कार्यान्वयनमा असफल देखिएको छ। स्थानीय तहसँग समन्वय नै नगरी जथाभावी रूपमा प्रमुख प्रशासकीय अधिकृत सरूवा गरेर पठाउँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय असफल देखिन थालेको हो।
क्याटेगोरी : समाचारट्याग : #अमृतकुमार धिताल, #चुरामणि पन्थी, #महेन्द्र विश्वकर्मा, #रामबहादुर केसी, #राममणि काफ्ले, #रोशन ज्ञवाली, #सुरेन्द्र थापा मगर, #हेमराज अर्याल
तपाईको प्रतिक्रिया दिनुहोस