विद्युतीय शवदाह गृहमा अनियमितता

मिलन थापादेखि घनश्याम खतिवडासम्मले अख्तियारमा बयान दिए, तत्कालीन मन्त्री किराँतीलाई के गर्ला?


काठमाडौं। पशुपति क्षेत्र विकास कोषले किनेको विद्युतीय शवदाह गृहमा भएको अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हात हालेको छ। पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको विद्युतीय शवदाह गृहका लागि १२ करोड बढीमा खरिद गरेको ४ थान फर्नेश र एउटा जेनेरेटर खरिद गर्दा अनियमितता भएको भन्दै अख्तियारले विस्तृत छानबिन गरेको हो।

पशुपति क्षेत्र विकास कोषका तात्कालीन अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको सक्रियतामा फर्नेश र जेनेरेटर खरिद अनियमिततामा अहिले अख्तियारले धमाधम बयान लिइरहेको छ। अख्तियार स्रोतका अनुसार खरिद प्रक्रियाको थालनी गर्ने कोषका तत्कालीन सदस्य-सचिव मिलनकुमार थापाको बयान भइसकेको छ। जलहरी प्रकरणमा थापालाई भ्रष्टाचार मुद्दा दायर भएपछि राजुकुमार खत्रीले सदस्य-सचिवको जिम्मेवारी पाएका थिए। खत्री झन्डै २ करोड रुपैयाँ निकासा गर्ने प्रक्रियामा संलग्न रहेको अख्तियार स्रोतले बतायो। खत्रीलाई तत्कालीन मन्त्री किराँतीको चाहनामा सदस्य-सचिवको जिम्मेवारी दिइएको थियो। उक्त प्रकरणमा खत्रीलाई समेत अख्तियारले बयान लिएको हो।

मन्त्री किराँतीको जोडबलमा विद्युतीय शवदाह गृहमा खरिद गरिएको सामानमा तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडाले समेत अख्तियारमा पुगेर बयान दिएका छन्। ठेकेदारले सम्झौता बमोजिमको पुरै भुक्तानी भने पाइसकेका छैनन्। मन्त्री किराँतीको दबाब दिएर उनलाई उक्त प्रक्रियामा सहभागी हुन बाध्य परिएको स्रोतको भनाइ छ।

अख्तियार स्रोतका अनुसार कोषका कर्मचारी रेवतीरमण अधिकारी, उद्धव विष्ट, वरिष्ठ इन्जिनियर पशुपति ठाकुर, इन्जिनियरद्वय डेनिस उप्रेती र रमेश पुरीको समेत बयान लिने काम भइसकेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगत समेत विद्युतीय शवदाह गृहमा सामान खरिद गर्ने अनियमिततामा मुछिएका छन्। अख्तियारले विद्युतीय शवदाह गृह अनियमितता प्रकरणमा झन्डै एक दर्जनको बयान लिएको छ। उनीहरू विद्युतीय शवदाह गृहमा सामान खरिद गर्दा भारतमा समेत पुगेर आएका थिए।

विद्युतीय शवदाह गृहमा भएको अनियमितता तत्कालीन कोषका अध्यक्ष सुदन किराँतीको बयान लिने/नलिने निश्चित भइसकेको छैन। तर, उक्त प्रकरणमा किराँती नै मुख्य जिम्मेवार रहेको स्रोतको दाबी छ। विद्युतीय शवदाह गृहमा फर्नेश र जेनेरेटर खरिद गर्ने निर्णय हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँती, सचिव भरतमणि सुवेदी (हाल निर्वाचन सचिव) र सदस्य सचिव मिलनकुमार थापा रहेका थिए। विद्युतीय शवदाह गृहमा भएको अनियमितताको प्रकरण अख्तियारमा पुगेसँगै हंगामा मच्चिएको छ। अख्तियारका एकजना आयुक्त त अख्तियारमा बयान दिएका पदाधिकारीसँग भारत पुगेर आएको चर्चा सेलाउन पाएको छैन। विद्युतीय शवदाह गृहमा भएको अनियमितताका योजनाकार मानिने किराँतीलाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने दबाबमा अख्तियार रहेको छ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## पशुपति क्षेत्र विकास कोष, #आसामान संगत, #घनश्याम खतिवडा, #पशुपति ठाकुर, #मिलनकुमार थापा, #राजुकुमार खत्री

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ