कोरोनाले ओझेलमा किटजन्य रोग
काठमाडौं । अहिले विश्व समुदाय मात्रै हैन नेपाल पनि कोरोनाको भयमा रुमल्लिएको छ । सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोरोना महामारी पटक पटक गरी तेस्रो छाल सुरु भएको छ । त्रिशुली अस्पताल नुवाकोट, गण्डकी स्वास्थ्य निर्देशनालयले तेस्रो छालका रुपमा नयाँ भेरिएन्ट पुष्टि भएको औपचारीक जानकारी गराइसकेका छन् ।
कोरोना भाइरस संक्रमणको खतरासँगै खुला रुपमा हिँडडुल गर्न र पैदल यात्रा गर्न विगतमा जस्तो सहज छैन । अस्पतालहरुले नियमीत बिरामी जाँच गर्न सुरु गरेका छैनन् । सहज रुपमा ओपिडि संचालन नभएकाले बिरामीलाई अस्पताल धाउन अरू कठिन हुन्छ ।
विगत दुई वर्ष देखि देश पुरै कोरोना नियन्त्रणमा केन्द्रित छ । वर्षायाम चलिरहेकाले कोरोना भन्दा बाहिर पनि अन्य थुप्रै संक्रामक रोगहरु फैलिरहेका छन् । कोरोना संक्रमणका बिच इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जुनीयर कर्मचारीहरु भेक्टरवन डिजिजको जोखिम कम गर्नमा केन्द्रित छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल मलेरिया, कालाजार, डेङ्गु, इन्फ्लुएन्जा, स्क्रब टाइफस लगायतको जोखिम देखिएको छ । महाशाखाका प्रमुख डा कृष्ण पौडेलका अनुसार भेक्टिरवन डिजिजहरु भएपनि कोरोनाका कारण केही ओझेल परेको छ । कोरोना नियन्त्रणमा राज्य जुटेका बेला यी किटजन्य रोगहरुको जोखिम न्यूनीकरणमा राज्यको योगदान विगतमा भन्दा केही कमी पक्कै भएको छ पौडेलले भने ।
‘स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका पौडेलले भने, ‘कोरोनाले किटजन्य रोगमा राज्यको ध्यान अवश्य पनि कम छ । तर, कामै नगरी महाशाखा बसेको पक्कै छैन । आवश्यक पर्ने औषधि, जनशक्ति लगायत सबै खाले स्रोत साधनको व्यवस्थापन भएको छ ।’ अधिकारीहरुले किटजन्य रोगहरु भन्दा पनि हाल कोरोना नियन्त्रण गर्नु मुख्य चुनौती भएको बताएका छन् ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अहिले देखिने रोगहरुमा धेरै जसो कोभिडसँग मिल्ने लक्षणहरु हुन्छन् । स्क्रब टाइफस, ‘इन्फ्लुएन्जा’ मलेरिया, डेगु जस्ता बिभिन्न किटजन्य रोगहरु कोभिडसँग मिल्ने लक्षण भएकाले धेरै मानिसहरु भ्रममा पर्ने गरेका छन् उनले भने ।
सहयोगी दाता बेपत्ता
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार महामारीका क्षेत्रमा रहेर काम गर्ने करिब २ सय ३८ गैरसारकारी सस्था छन् । ४ हजारको हाराहारीमा एनजीओ छन् । जसले कोरोना नियमीत रुपमा भेक्टरवन डिजिजका क्षेत्रमा काम गर्दै आएका छन् । तर, कोरोनाको समयमा उनिहरु निस्कृय भएको महाशाखाका एक अधिकारीले बताए । महामारीको समयमा महाशाखाका कर्मचारीहरुले कोरोनासँगै अन्य किटजन्य रोगका क्षेत्रमा पनि नियमीत काम गरेका छन् ।
सावधानी कसरी हुने
डा शेबहादुर पुन भन्छन्, सामान्य सावधानी अपनाए यी भाइरसबाट जोगिन सकिन्छ । व्यक्तिगत सरसफाइ सबैभन्दा महत्त्वपूर्ण हो । डा पुन भन्छन्, खोक्दा र हाच्छ्युँ गर्दा रुमाल या कुमले मुख छोप्नुपर्छ । भिडभाडबाट टाडै बस्ने र समय समयमा साबुन पानीले हात धुने गर्नुपर्छ । त्यसैगरी धेरै मात्रामा झोलिलो खानेकुरा खानु पर्छ ।
हाल जोखिममा रहेका रोग
मलेरिया ः मलेरिया एनाफिलिज नामक लामखुट्टेबाट सर्छ । मलेरियाको मुख्य कारण ‘प्यारासाइट प्लास्मोडियम’ लाई पनि मानिन्छ । पाँच वर्षमुनिका बालबालिका, गर्भवती र दीर्घरोगी मलेरियाको जोखिम समूह हुन् । टाउको दुख्नु, बान्ता आउनु, ज्वरो आउनु यसका प्रमुख लक्षण हुन् ।
कालाजार ः कालाजार रोग सार्ने भुसुना माटोको घर भएको स्थानमा राम्ररी हुर्किन्छन् । पोथी भुसुनाले मानिसको रगत चुस्छ र एकअर्कामा सार्छ । कालाजार हल्का ज्वरो, कमजोरी र भोकको कमीले हुन्छ र सातामा तीव्र ज्वरो, रक्तअल्पता, कलेजोको समस्या, छाला कालो हुनु, पेट फुल्नु, कमजोरीका लक्षण देखिन्छन् ।
स्क्रब टाइफस ः संक्रमित व्यक्तिलाई अत्यधिक ज्वरो आउने, सास फेर्न गाह्रो हुने, बेस्सरी टाउको दुख्ने, शरीरबाट पसिना आउने, विभिन्न अंगमा स–साना बिमिरा देखिने, हल्का आँखा रातो हुने स्क्रब टाइफसका लक्षण हुन् । पाँचदेखि १४ दिनभित्र यसका लक्षण देखिन्छन् ।
डेंगु ः लामखुट्टेको टोकाइबाट लाग्नेमध्ये डेंगु सबैभन्दा घातक हो । यो एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । डेंगु भएमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अंगबाट रगत बग्ने हुन्छ ।
मौसमी रुघाखोकीः
मौसमी रुघा खोकीका बिरामीहरु पनि देखिन थालेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा रुणा झा मौसमी रुघा खोकीका बिरामीहरु पनि देखिन थालेको बताउँछीन । तर, कोरोनाका कारण यो परिक्षण ओझेलमा परेको छ । हामीले कोरोना परिक्षण गर्दा कोभिड पुष्टि नभएको तर, लक्षण फ्लुको जस्तो देखिएमा त्यसलाई मौसमी रुघा खोकी ‘इन्फ्लुएन्जा’ मा समावेश गराउदै आएका छौं ।
सास फेर्न गाह्रो हुने, लगातार ज्वरो आउने लक्षण इन्फ्लुएन्जा भएको व्यक्तिमा देखिन्छ । मधुमेह, दम र अन्य दीर्घरोग भएका र कमजोर व्यक्तिरूमा भने यसले तुरुन्तै आक्रमण गर्छ ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस